भारतको व्यावसायिक क्रिकेट प्रतियोगिता आईपीएलमा छानिएसँगै अन्तर्राष्ट्रिय चर्चा बटुलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व ११ टोलीमा छानिएका छन्।
टी-२० शैलीमा हुने उक्त खेल इङ्ग्ल्यान्डको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा आगामी मे ३१ तारिखमा हुनेछ।
वेस्ट इन्डिजमा गतवर्ष गएको आँधीका कारण भत्किन पुगेका पाँच वटा रङ्गशालाको पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न उक्त खेल हुन लागेको हो।
नेपालका सत्र वर्षीय लामिछानेसँगै विश्व ११ टोलीमा इङ्ग्ल्यान्डका इओन मोर्गन, पाकिस्तानका शाहिद अफ्रिदी र शोएव मलिक, बाङ्ग्लादेशका तमिम इकवाल, भारतका दिनेश कार्तिक र हार्दिक पाण्ड्या, अफगानिस्तानका रशिद खान, न्यूजिल्यान्डका मिचेल म्याक्लिनगन र लुक रोन्ची एवम् श्रीलङ्काका तिसरा परेरा छन्।
मोर्गनले टोलीको कप्तानी गर्ने आईसीसीले जनाएको छ।
तस्वीर कपीराइटSANDEEP LAMICHHANE/TWITTERआईपीएलमा छानिएपछि चर्चाको शिखरमा पुगेका लामिछानेले आईपीएलपछि क्यारेबियन लिगमा पनि खेल्ने पक्का भइसकेको छ।
तर त्यसअघि नै उनले २० ओभरको विश्व च्याम्पियन वेस्ट इन्डिज टोलीसँग लर्ड्समा खेल्ने अवसर पाएका हुन्।
वेस्ट इन्डिज टोलीमा क्रिस गेल, सामुएल बद्री, कार्लोस ब्राथ्वेइट, एभिन लुइस, मार्लोन सामुएल्स र आन्द्रे रसेल जस्ता खेलाडीहरु छन्।
विश्व ११ टोलीमा परेपछि लामिछानेले भने, ” यो सिंगो देश र नेपाली क्रिकेटका प्रशंसकहरुका लागि ठूलो सम्मानको विषय हो।”

सन् २०१६ मा लर्ड्समा खेलिसकेका लामिछानेले त्यहाँ खेल्नु कुनै पनि क्रिकेटरको सपना हुने भन्दै उनले थपे, “मलाई विश्वास छ भविष्यमा पनि मैले यस्ता अवसरहरू पाउनेछु। जसले मेरो क्षमता अभिवृद्धि गर्न र मेरो देशको नक्सा अन्तर्राष्ट्रिय क्रिकेटमा चिनाउन सहयोग गर्नेछ।”
आईसीसीका अनुसार विश्व ११ टोलीमा परेका शकिब अल हसनले निजी कारण देखाउँदै खेल्न असमर्थता जनाएका छन्।
उनको विकल्पमा अर्को खेलाडीको नाम छिट्टै घोषणा हुनेछ।
गतवर्ष वेस्ट इन्डिजमा इर्मा र मारिया नामका आँधीले ठूलो क्षति पुर्याएका थिए।
आँधीले अङ्गोलास्थित रोनाल्ड वेबस्टर पार्क, एन्टिगुवास्थित सर भिभ रिचार्ड स्टेडिअम, डोमिनिकास्थित विन्डसोर पार्क स्टेडिअम, ब्रिटिश भर्जिन आइसल्यान्डसस्थित एओ सिर्ले रिक्रिएशन ग्राउन्ड र सेन्ट मार्टिनस्थित क्यारिब लुम्बर बल पार्कमा क्षति पुगेको थियो।
यिनै रङ्गशालाहरूको पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न आईसीसीले विश्व ११ र वेस्ट इन्डिजको टोलीबीच खेल आयोजना गर्न लागको हो।